नियम २०
केन्द्रको काम, कर्तव्य र अधिकार

ऐनको दफा २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क)   फोहरमैला व्यवस्थापन सम्बन्धी प्रविधिको उपयुक्तता सम्बन्धमा अध्ययन गरी स्थानीय निकायलाई सिफारिश गर्ने,

(ख) फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी गराउने,

(ग) फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रले आयात गर्ने प्रविधि र उपकरणको उपयुक्तताको सम्बन्धमा स्थानीय निकायलाई सिफारिश गर्ने,

(घ)   फोहरमैला व्यवस्थापन सम्बन्धी कार्य गर्न स्थानीय निकायसँग परामर्श गरी आवश्यक निर्देशिका तथा मापदण्ड तयार गर्ने,

(ङ) फोहरमैला व्यवस्थापन सम्बन्धमा स्थानीय निकायलाई प्राविधिक सहयोग उपलब्ध गराउने,

(च) फोहरमैला अत्यधिक उत्पादन हुने बस्तुको आयातमा कमी गर्न तथा त्यस्तो बस्तुको आयातमा रोक लगाउन नेपाल सरकार र स्थानीय निकायलाई सिफारिश गर्ने,

(छ) फोहरमैला व्यवस्थापनमा प्रभावकारिता ल्याउन स्थानीय निकायलाई सुझाव दिने,

(ज)   फोहरमैला व्यवस्थापन कार्यमा स्थानीय निकाय र निजी क्षेत्रलाई परिचालन गरी चेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गर्ने, गराउने,

(झ)   स्थानीय निकायहरुका बीच उत्पन्न हुने फोहरमैला व्यवस्थापन सम्बन्धी विवादमा  मध्यस्थता गरी समाधान गर्ने,

(ञ)   स्थानीय निकायहरु बीच फोहरमैला प्रशोधन तथा व्यवस्थापन स्थलको निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने सम्बन्धमा समिति गठन गर्दा समन्वय गर्ने,

(ट) फोहरमैला व्यवस्थापन सम्बन्धी सम्पर्क निकायको रुपमा कार्य गर्ने,

(ठ) स्थानीय निकायहरुको फोहरमैला व्यवस्थापनको अवस्थाको अनुगमन गर्ने,

(ड) फोहरमैला व्यवस्थापनका सम्बन्धमा सुधारका उपायहरु अवलम्बन गर्ने ।